

काठमाडौं । मंगलबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६ अंकमा झरेको छ । बजार सूचकको गिरावटसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा मंगलबार घटेर १२ अर्ब ९४ करोडमा सीमित रह्यो ।
यस दिन ४१ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ भने ५ कम्पनी स्थिर रहेका छन् । सबै सेक्टरका सूचकहरू ओरालो लागेका छन्, जसअनुसार बैंकिङ १.०५, विकास बैंक ०.३९, फाइनान्स २.१०, होटल तथा पर्यटन ०.९७, हाइड्रोपावर १.०८, लगानी १.७५, जीवन बीमा ०.६९, उत्पादन २.२१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा १.११, अन्य ०.०६ तथा व्यापार समूह ०.८४ प्रतिशतले घटेका छन् ।
यस दिन गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आत्मनिर्भर लघुवित्तको ६.६६, युनिभर्सल पावरको ५.७४, बरुण हाइड्रोपावरको ५.६०, र शिवश्री हाइड्रोपावरको ५.३० प्रतिशत मूल्य वृद्धि भएको छ ।
त्यस्तै, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतले घटेको छ । सिर्जनशील लघुवित्तको ९, नेपाल रिपब्लिक मिडियाको ७.४ तथा समाज लघुवित्तको ५.८७ प्रतिशतले मूल्य गुमाएको छ ।
हिमालयन रिइन्स्योरेन्सको सेयरमा आज पनि १ अर्बभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन १ अर्ब ३८ करोडको कारोबार भएकोमा मंगलबार घटेर १ अर्ब ९ करोडमा सीमित रह्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, सिन्धु विकास बैंक, घलेम्दी हाइड्रोपावर र युनिभर्सल पावर क्रमशः अग्रस्थानमा रहेका छन् ।