बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई कांग्रेसको ह्विप

बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई कांग्रेसको ह्विप

काठमाडौं । नेपाली कांग्रेसले अध्यादेशका पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ ।

बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले विभिन्न अध्यादेशहरू निर्णयार्थ पेस गर्ने तयारी गरेपछि कांग्रेसले आफ्ना सांसदहरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन भनेको हो ।

सत्तारूढ दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूलाई मंगलबार एसएमएस गरेर अध्यादेशका पक्षमा उभिन ह्विप लगाएका हुन् । प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन् ।

‘फागुन २१ गते दिउँसो १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,’ प्रमुख सचेतक घिमिरेले पार्टीका प्रतिनिधि सभा सांसदहरूलाई पठाएको एसएमएसमा उल्लेख छ ।

सरकारले सहकारीसहित ६ वटा अध्यादेश सदनमा दर्ता गरे पनि निर्णयार्थ पेस गरेको छैन ।