राष्ट्रको समृद्धि र दिगो विकासका लागि एकता आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रको समृद्धि र दिगो विकासका लागि एकता आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको समृद्धि र दिगो विकासका लागि सबै पक्ष एकताबद्ध भएर सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

सोमबार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण समारोहमा बोल्दै उनले नैतिक मूल्य, मान्यता र सदाचार कुनै पनि सभ्य समाजको मेरुदण्ड भएको उल्लेख गरे।

नैतिकता, समानता र सेवाभाव अपरिहार्य

राष्ट्रपतिका अनुसार समाजको स्थायित्व, समृद्धि र समतामूलक संरचनाका लागि नैतिकता, अनुशासन र इमान्दारी महत्त्वपूर्ण छन्। उनले भने, “जब कुनै समाजले यी मूल्यहरूको सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको आधार मजबुत हुन्छ।”

राष्ट्रपतिले केवल वित्तीय सफलताले मात्र दिगो समृद्धि सम्भव नहुने उल्लेख गर्दै नैतिकता, समानता र सेवाभावका साथ अघि बढ्नुपर्ने बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गलाई आत्मसात् गर्दै समाज, राष्ट्र र भावी पुस्ताका लागि सकारात्मक परिवर्तनको प्रयास गर्नुपर्ने उनको भनाइ थियो।

पुरस्कार समर्पण

सो अवसरमा नरकान्त योग राष्ट्रिय पुरस्कार प्राध्यापक डा. विद्यानाथ उपाध्याय भट्टलाई र भैरव सदाचार राष्ट्रिय पुरस्कार पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई प्रदान गरियो।

राष्ट्रपतिले पुरस्कार प्राप्त व्यक्तित्वहरूको योगदान प्रेरणादायी रहेको भन्दै समाजलाई समुन्नत बनाउने जिम्मेवारी सबैको साझा दायित्व भएको दोहोर्‍याए।