काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रोसले आफ्नो लक्ष्य आसन्न एसिएन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई साफ च्याम्पियनसिप उपाधि दिलाउनु रहेको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियाका रोसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै रोसले चार सातादेखि आफुले नेपाली फुटबललाई नियाली रहेकोले नेपालमा क्षमतावान खेलाडी भएको पनि बताए ।
‘नेपालका सिनियर खेलाडीले देश छाडेको कुरा राम्रोसँग थाहा छ । तर विदेश गएका खेलाडीलाई नेपाल ल्याउने र यहाँका युवा खेलाडीलाई मौका दिएर अगाडि बढ्नेछौँ । अबको पहिलो लक्ष्य विभिन्न मैत्रीपूर्ण खेल खेल्दै एसिएन कप छनोटमा ध्यान दिनेछौँ । मेरो योजना नेपाललाई एसिएन कपमा छनोट गराउने र साफ च्याम्पियनसिप जिताउनेमा केन्द्रित हुनेछ,’ रोसले भने ।
उनले विदेश गएका खेलाडीलाई स्वदेश फर्किएर राष्ट्रिय टोलीमा योगदान गर्ने ढोका सँधै खुला रहने पनि बताए । पछिल्लो दुई वर्षमा नेपाली राष्ट्रि टोलीका अधिकांश सिनियर खेलाडी प्रशिक्षक रोसकै देश अष्ट्रेलिया पलायन भएका छन् ।
रोसले आफु नेपाली टोलीको प्रशिक्षक बन्न पाउनु खुसीको क्षण भएको पनि सुनाए । ‘नेपाली फुटबलमा दर्शकको क्रेज बेजोडको पाएँ । यहाँको आतिथ्यताले झनै लोभ्यायो । म आफ्नो कार्यकालमा नेपाललाई माथिल्लो सफलता दिलाउने प्रयास गर्नेछु । जसबाट नेपाली समर्थक खुसी बनुन्,’ रोसले भने ।
नेपाली खेलाडीको क्षमता राम्रो देखेको भन्दै रोसले बल नियन्त्रण र दबाबपूर्ण खेलमा धैर्य गरेर खेल्न जरुरी रहेको पनि बताए । एन्फाले रोससँग एक वर्षका लागि सम्झौता गरेको हो ।