अघिल्लो चुनावभन्दा बढी सिट जित्न देउवाको निर्देशन

अघिल्लो चुनावभन्दा बढी सिट जित्न देउवाको निर्देशन

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा अघिल्लो चुनावभन्दा धेरै सिट जित्ने गरी तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

आज आयोजित प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम लाई सम्बोधन गर्दै उनले चुनावमा कुनै पनि दलले एक्लै बहुमत ल्याउने अवस्था नरहेको भन्दै कांग्रेसलाई थप सशक्त बनाउनु पर्ने बताए।

उनले पार्टीभित्रका असहमतिहरूलाई छलफल र संवादमार्फत समाधान गर्दै कांग्रेसलाई जीवन्त र सशक्त बनाउनुपर्ने धारणा राखे। “हाम्रो बीचमा केही मतभेद हुन सक्छन्, तर ती छलफलमार्फत मिलाउन सकिन्छ। कांग्रेसलाई भाइब्रेन्ट पार्टीका रूपमा अगाडि बढाउन जरुरी छ,” उनले भने।

देउवाले वर्तमान सरकार सफल हुने दाबी गर्दै सत्तामा कांग्रेस–एमाले मुख्य घटक भए पनि अन्य दलहरूको सहभागिता राम्रो संकेत भएको बताए। “अन्य दलहरू पनि सरकारमा समेटिनु सकारात्मक पक्ष हो। लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष दलको भूमिका आवश्यक हुन्छ,” उनले थपे।