

काठमाडौं । यौनकर्मीको कथामा आधारित हलिउड फिल्म ‘अनोरा’ ले २०२५ को ओस्कार अवार्डमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच विधामा जित हासिल गरेको छ। लस एन्जलसमा सम्पन्न ओस्कार समारोहमा ‘अनोरा’ ले उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक, उत्कृष्ट सम्पादन, र मौलिक पटकथाको अवार्ड जितेर वर्षकै चर्चित फिल्म बनेको छ।
फिल्मकी मुख्य अभिनेत्री मिकी म्याडिसन ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दै हलिउडमा परिवर्तनको संकेत गरेकी छिन्। अवार्ड ग्रहणपछि उनले यो अवार्ड सम्पूर्ण यौनकर्मीहरूलाई समर्पित गर्दै, उनीहरूलाई पनि अन्य कामदारसरह सम्मान दिनुपर्ने बताइन्।
फिल्मका निर्देशक शन बेकर ले उत्कृष्ट निर्देशकको अवार्ड जित्दै, “साँचो अर्थमा स्वतन्त्र फिल्म निर्माण गरेको अनुभव” साझा गरेका छन्। उनले ‘अनोरा’ लाई स्वीकार गरेर एकेडेमीले स्वतन्त्र सिनेमालाई पनि मान्यता दिएकोमा आभार व्यक्त गरे।
यस वर्षको ओस्कारमा ‘द ब्रुटालिस्ट’ ले तीन विधामा, ‘विक्ड’, ‘एमिलिया पेरेज’, र ‘ड्युन: पार्ट टू’ ले समान दुई-दुई विधामा अवार्ड जितेका छन्।
फिल्म ‘अनोरा’ ले संवेदनशील विषयवस्तु उठान गर्दै, सामाजिक मान्यता चुनौती दिने कथावस्तुलाई उत्कृष्ट सिनेमाटोग्राफी र निर्देशनमार्फत प्रभावशाली रूपमा प्रस्तुत गरेको भन्दै दर्शक र समीक्षकहरूबाट समेत उच्च प्रशंसा पाएको छ।