एशिया कप छनाेटमा नेपालकाे फितलाे प्रदर्शन: हङकङसामु ९६ रनकाे मात्र लक्ष्य

एशिया कप छनाेटमा नेपालकाे फितलाे प्रदर्शन: हङकङसामु ९६ रनकाे मात्र लक्ष्य

मलेसिया, १९ भदाै । एसिया कप छनोट अन्तर्गत लिग चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालकाे प्रदर्शन निकै खराब रह्याे । नेपालले ३८ औं ओभरमा सबै विकेट गुमाउनुअघि ९५  रन मात्र जोड्न सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा ९५ रनमा अलआउट भयो । निकै फितलो ब्याटिङ गरेको नेपालले मात्र एक रन हुदा पहिलो विकेट गुमायो । ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए ।

त्यसपछि नेपालले २३ रनमा अर्को विकेट गुमायो । कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ४४ रनका हुदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ४८ रन बनाउदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए जसका कारण नेपालले चौथो विकेट गुमायो ।

तर लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भएपछि नेपालको पारी धरापमा पर्यो । निकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैटौ विकेट खेर फाल्यो । सागर पुन ७ रनमा आउट भए । नेपालको स्कोरबोर्डमा अरु तीन रन थपिदा सातौ विकेट गयो । सोमपाल कामीले खाता खोल्न सकेनन ।

आठौ विकेटका लागि आरिफ शेख र बसन्त रेग्मी विच ३४ रनको साझेदारीले नेपाललाई केहि राहत भएको थियो । तर नेपालको स्कोर ९२ रन हुँदा आरिफ १८ रनमा आउट हुन पुगे । नेपालका लागि बसन्त रेग्मीले अविजीत १५ रन थपे । आजको खेलमा नेपालको ब्याटिङ यो प्रतियोगिताकै कमजोर रहन पुग्यो ।

फाइनलमा स्थान बनाउन नेपालले यस खेलमा फराकिलो अन्तरको जितसँगै अर्को खेलमा ओमनले यूएईलाई पराजित गर्नुपर्ने अवस्था छ । यूएई आफैं पनि अर्को चरणमा पुग्न जित चाहिएको अवस्थामा नेपाललाई फाइनल पुग्न निकै कठिन देखिन्छ । हङकङ पनि जित दर्ता गरे अर्को चरणमा पुग्नेछ । शीर्ष ४ टोलीको नै दोस्रो चरण पुग्ने सम्भावना जीवित रहेकाले लिग चरणको अन्तिम खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नेपालले प्रतियोगिताको सुरुआती दुई खेल गुमाएपछि प्रतियोगिताको फाइनल पुग्ने आशा पातलिएको थियो । यूएई र ओमानलाई नतिजा सुम्पिएको नेपालले त्यसपछि भने मलेसिया र सिंगापुरलाई हराएको हो ।