काठमाडौं: सत्तारूढ नेपाली कांग्रेसले संविधान संशोधनका लागि पार्टीभित्रै कार्यदल गठन गर्ने र सरकार सञ्चालन कार्यदलमा थप सदस्य थप्ने विषयमा छलफल गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार बसेको बैठकमा यी विषयमा गम्भीर छलफल गरिएको हो।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले संविधान संशोधनका लागि कार्यदल बनाएर अघि बढ्ने सहमति जुटेको जानकारी दिए। उनले संविधान संशोधनका विषयमा गम्भीर गृहकार्य आवश्यक रहेको भन्दै कांग्रेसभित्र अलग्गै कार्यदल गठन गर्ने निर्णय भएको बताए।
बैठकमा सरकार सञ्चालनका लागि गठन भएको कार्यदलमा सदस्य थप्ने विषयमा एमालेसँग छलफल गर्ने निर्णय पनि गरिएको छ। कांग्रेसका एक नेताका अनुसार“अहिले सरकार सञ्चालन कार्यदलमा कांग्रेस र एमालेका दुई–दुई जना मात्र सदस्य छन्। अब दुवै पार्टीका पाँच–पाँच जना रहने गरी छलफल अघि बढाइनेछ।”
बैठकमा केबलकार निर्माणमा भइरहेको अवरोध हटाउने विषयमा पनि छलफल भएको थियो। प्रवक्ता महतका अनुसार “सरकार संवेदनशील छ। समस्या समाधानका लागि वार्ताबाट नै हल खोज्ने निष्कर्ष निकालिएको छ।”
कांग्रेस नेतृत्वको सरकार संविधान संशोधन, विकास निर्माणको तीव्रता र प्रभावकारी शासन व्यवस्थापनका लागि योजनाबद्ध ढंगले अघि बढ्ने संकेत बैठकले दिएको छ।