विद्वत समाज नेपालको ११ औं बार्षिक उत्सव मनाइयो

विद्वत समाज नेपालको ११ औं बार्षिक उत्सव मनाइयो

काठमाडाैं । महाशिवरात्रि तथा श्री राधा माधव समिति नेपाल सम्बद्ध विद्वत समाज नेपालको ११ औं वार्षिक उत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइयो । यस अवसरमा श्यामा श्याम धाम ठिमीमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापाले स्वामी हरिदासजीले प्रवचनका माध्यमले नेपालको धार्मिक चेत वृद्धि र विद्वत समाज नेपालले धार्मिक तथा सामाजिक क्षेत्रमा पुर्याएको याेगदानको मुक्तकण्ठले प्रशंशा गर्दै नेपालको बौद्धिक वर्ग बाट राष्ट्रको सर्वाङ्गीण विकासमा सकृय योगदानको अपेक्षा गरेको बताउनु भयो ।

सो अवसरमा श्री राधा माधव समिति नेपालका कार्यबाहक अध्यक्ष सुरेश प्रकाश आचार्यले श्री कृपालु महाप्रभुको असीम अनुकम्पाबाट स्वामी हरिदासजिको सक्रियतामा संस्थापित श्री राधा माधव समिति नेपाल आध्यात्मिक साधना र सामाजिक सेवामा सक्रिय नेपालका अग्रणी गैर सरकारी संस्थामा पर्ने बताउँदै मानवलाई दुःख निविर्ति र आनन्द प्राप्ती निम्ति कर्म ज्ञान र भक्तिको सन्तुलित साधना आबश्यक रहेको बताउनु भयो ।

न्याय परिषद नेपालका पूर्व माननीय सदस्य पदम बैदीकले विद्वत समाज नेपालले नेपालका धेरैभन्दा धेरै बुद्धिजीवीलाई गोलबद्ध गरी कर्म ज्ञान र भक्तिबारे चेत भर्नु आबश्यक रहेको बताउनुभयो । सो अवसरमा सभापतिको आसनबाट विद्वत समाज नेपालका संयोजक ई महेन्द्र बहादुर गुरुङले समाजको वार्षिक प्रतिवेदन प्रस्तुतीका क्रममा पशुपति वनकालीमा कृपालु उद्यानको सञ्चालन , उद्यानमा गौरी माताको मूर्ति प्रतिष्ठापन विभिन्न सामाजिक सेवाका कार्यक्रम गर्नुका साथै आगामी वर्षबाट कृपालु छात्रवृत्ती सञ्चालन गरिने तथा कृपालु लाइब्रेरी तथा अनुसन्धान केन्द्रको स्थापना गरिने बताउनुभयो । उक्त कार्यक्रममा समाजका सदस्य इन्टएरियर डीजाइनार बृन्दा प्रधानले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा डीभआइन् युथ क्लबका सदस्यहरूले भगवान शिव शंकरका लीला झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।समाजका सदस्य राजेन्द्र सिग्देलको उद्घोषणमा संचालित कार्यक्रमको समाजकै सदस्य उमा थापा र डीभआइन् युथ क्लव नेपालका अध्यक्ष सुशील जिसीले सहजीकरण गर्नु भएको थियो । स्मरण रहोस् जगद्गुरु श्री कृपालु महाप्रभुका एकमात्र नेपाली प्रचारक स्वामी हरिदासजी ले वि सं २०७० फाल्गुन १५ गते महाशिवरात्रिका अवसरमा नेपालका विद्वत वर्गमा निहित क्षमतालाई समाज देश र विश्वकै सेवामा उपयोग गर्ने परिकल्पनामा विद्वत समाज नेपालको संस्थापन गर्नु भएको थियो ।