

काठमाडौं। शेर्पा समुदायले फागुन शुक्ल प्रतिपदाका दिन मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार शुक्रबार विविध कार्यक्रमसहित मनाइँदै छ। शेर्पा समुदायले २१५२औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। यो पर्व मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइन्छ। भोटका नवौं राजा उदे गुङ्ग्यालको पालादेखि “वसन्त पर्व” को रूपमा मनाउन सुरू गरिएको भए पनि पछि यसको नाम ग्याल्पो ल्होसार राखिएको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मात्र सीमित रहेको ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाइने क्षेत्र विस्तार हुँदै गएको हो।यसअघि, पुस १५ मा गुरूङ समुदायले तमु ल्होसार तथा माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार मनाइसकेका छन्।