प्रधानमन्त्री ओलीद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। बैठक भोलि (शुक्रबार) साँझ बालुवाटारमा बस्ने तय गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार पछिल्ला केही दिनयता सत्तारूढ दलहरूबीच छलफल प्रभावकारी रूपमा हुन नसकेका कारण बैठक बोलाइएको हो। सचिवालयले भनेको छ, “नियमित रूपमा संयन्त्रको बैठक बस्दै आएको थियो। बीचमा कार्यदल पनि सक्रिय थियो। तर, पछिल्लो समय गृहमन्त्री र परराष्ट्रमन्त्रीको व्यस्तताले छलफल प्रभावकारी हुन सकेन।”

सचिवालयका अनुसार संसद्मा रहेका विधेयक, सरकारका कामकारबाही, अध्यादेश र संसद्सम्बन्धी अन्य विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

सत्तारूढ दलहरूलाई बहुमत नपुग्दा अध्यादेश पारित गर्न कठिनाइ
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि संयन्त्रको बैठक बोलाइएको पुष्टि गरेका छन्। उनले भने, “प्रधानमन्त्री, कांग्रेस सभापतिसहित संयन्त्रका सदस्य, कार्यदलका प्रतिनिधि र प्रमुख सचेतकहरूलाई बैठकमा बोलाइएको छ। बैठकमा सरकार र संसद्सम्बन्धी नियमित विषयमा छलफल हुनेछ।”

पछिल्लो समय सत्तारूढ दलहरू छ वटा अध्यादेश पारित गराउन अप्ठ्यारोमा परेका छन्। सरकारले अध्यादेश ल्याए पनि राष्ट्रियसभामा बहुमत नपुग्दा प्रतिनिधिसभामासमेत पेस गर्न सकेको छैन। प्रमुख सचेतक घिमिरेका अनुसार, बैठकमा यो विषयमा पनि छलफल हुने संभावना छ। उनले भने, “औपचारिक रूपमा एजेन्डा नभए पनि शीर्ष नेताहरूबीच छलफलपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा केही न केही निर्णय हुनेछ।”