

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई समर्थन गर्न विश्व समुदायलाई आग्रह गरेकी छिन्। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा, जेनेभामा रहनुभएका मन्त्री डा. देउवाले विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरूलाई नेपाललाई मतदान गर्न आग्रह गरेकी हुन्।
मन्त्री डा. राणाको सम्मानमा नेपाली स्थायी नियोगद्वारा आयोजित स्वागत समारोहमा, उनले सीमित स्रोत र साधनका बाबजुद नेपालले मानवअधिकारको संरक्षण र प्रवर्धनमा पुर्याएको योगदानलाई हेरेर नेपाललाई मत दिन आह्वान गरिन्।
उनले भनिन्, “नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानवअधिकारको पक्षमा अडिग छ। मानवअधिकारको रक्षा र प्रवर्द्धनमा हामी लामो समयदेखि काम गरिरहेका छौं। यसै प्रतिबद्धताको निरन्तरता स्वरूप, नेपालले सन् २०२७-२०२९ कार्यकालका लागि मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको छ। म सबै सदस्य राष्ट्रलाई नेपाललाई सहयोग गर्न अनुरोध गर्दछु।”
मन्त्री राणाले नेपालको संविधानले नागरिक स्वतन्त्रता, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको उल्लेख गर्दै नेपाल सरकार लोकतान्त्रिक मूल्य, कानूनी शासन, र न्यायपालिकाको स्वतन्त्रता प्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
उनले नेपालले शान्ति प्रक्रियामा विश्वकै उदाहरणीय कार्य गरेको बताउँदै, बाँकी रहेका कार्यहरू छिट्टै सम्पन्न गर्न संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण प्रक्रियामा सरकार प्रतिबद्ध रहेको जानकारी दिइन्।
मन्त्री डा. देउवाले पछिल्लो समयमा नेपालले महिला, बालबालिका, अल्पसंख्यक तथा समावेशीताका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरिन्। साथै, नेपाल सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताको पक्षमा रहेको उनले स्पष्ट गरिन्।
यसअघि, मन्त्री डा. देउवाले मंगलबार राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरिसकेकी थिइन्। सो सत्रमा राष्ट्रसंघका सदस्य राष्ट्रहरूका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं विशेषज्ञहरूको सहभागिता रहेको थियो। ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी मन्त्री राणा शुक्रबार बिहान स्वदेश फर्कने कार्यक्रम रहेको छ।