कुलमान घिसिङको उर्जामन्त्रीलाई जवाफ- “मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन”

कुलमान घिसिङको उर्जामन्त्रीलाई जवाफ- “मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन”

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा प्रष्टीकरण बुझाएका छन्। बुधबार, उर्जा मन्त्रालयले उनलाई २४ घण्टे प्रष्टीकरण सोधेको थियो, जसको जवाफ उनले केही समय अघि बुझाएका हुन्।

कुलमानले आफ्नो जवाफमा उर्जा मन्त्रालयलाई आफूसँग स्पष्टिकरण सोध्ने अधिकार नभएको बताएका छन्। उनले भने, “निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ का विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्दछु।”

उनले थप भने, “नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारवाही गर्न लागिएको हो? यदि कसुर एकिन नगरी गोश्वरा आरोपमा कारवाही गर्न नमिल्ने कुरा पनि स्पष्ट गरेको छु।”

ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री स्तरीय निर्णय गरेर आन्तरिक र बाह्य भ्रमण, काज र बिदाका विषयमा प्रश्न सोधेका थिए।