शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक: उपप्रधानमन्त्री प्रकाशमान सिंह

शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक: उपप्रधानमन्त्री प्रकाशमान सिंह

ललितपुर। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयासको आवश्यकता रहेको बताएका छन्। बिहीबार ललितपुरमा नेपाल अंग्रेजी भाषा शिक्षक संघको २९औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति निर्माण मार्फत शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने बताए।

विगतका वर्षहरूमा शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन आएको भन्दै उनले नेपालमा अब गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने अवस्था बनेकोमा खुशी व्यक्त गरे।

शैक्षिक नीति सुधारका लागि अंग्रेजी भाषा नीति र अंग्रेजी भाषा शिक्षाको क्षेत्रमा योगदान गर्न संघलाई आग्रह गर्दै उनले भने, “नयाँ शैक्षिक नीतिहरूको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्छ।”

सिंहले सन् १९९२ देखि नेपालमा अंग्रेजी भाषा शिक्षाको प्रवर्द्धनमा नेपाल अंग्रेजी भाषा शिक्षक संघले खेलेको भूमिकाको प्रशंसा गरे र देशका दुर्गम क्षेत्रमा अंग्रेजी भाषा शिक्षा र सिकाइलाई थप प्रवर्द्धन गर्न संघलाई आग्रह गरे।

ललितपुरमा आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन्।