राराको होटलमा भीषण आगलागी, चार भवन जलेर नष्ट

राराको होटलमा भीषण आगलागी, चार भवन जलेर नष्ट

मुगु । मुगुको रारा तालको किनारमा रहेको एक होटलमा गए राति भीषण आगलागी हुँदा चारवटा भवन जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

ग्यास सिलिन्डर विस्फोटपछि आगलागी

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार होटलको भान्साबाट सुरु भएको आगोले ग्यास सिलिन्डर विस्फोट गराउँदा अन्य तीन भवनमा फैलिएको थियो। आगलागीपछि काठको संरचनाले बनेका भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

सुरक्षा टोलीको सक्रियतामा आगो नियन्त्रण

आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन र होटलका कर्मचारीहरूले संयुक्त रूपमा प्रयास गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वमा १५ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो।

पाहुनाहरूको सुरक्षित उद्धार

प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले होटलमा रहेका पाहुनाहरूलाई तत्काल उद्धार गरी नजिकैका अन्य होटल, सेनाको ब्यारेक र निकुञ्ज कार्यालयमा सारिएको छ।

हालसम्म कुनै मानविय क्षति भएको विवरण प्राप्त नभए पनि आगलागीले होटलका संरचनामा ठूलो क्षति पुर्‍याएको छ। घटनाको विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।