नेपाली सेनाले आज २६२औं स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै

नेपाली सेनाले आज २६२औं स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं । प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २ सय ६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

यस अवसरमा सैनिक मञ्चमा परेड अर्थात शस्त्राभ्यास तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाले जनाएको छ । त्यस अवसरमा नेपाली सेनासहित भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाद्वारा साङ्गीतिक प्रस्तुति हुनेछ ।

स्थापना दिवस मनाउने सिलसिलामा पृतना समन्वयात्मक बैठक, प्रधानसेनापति खुल्ला म्याराथन, युनिटी जर्नल प्रकाशन र तस्बिर प्रदर्शनीसमेत भइसकेको छ । सेनाको वर्तमान साङ्गठनिक स्वरूप १८१९ सालदेखि शुरु भएको हो । सन् १९५८ देखि शान्ति सेनाको जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनाले हाल सम्म ४४ शान्ति मिसनमा रही एक लाख ५४ हजार ३४० जनाले विश्वशान्तिमा योगदान पु-याइसकेका छन् ।

सेनाले सङ्घीय, प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वयन गरी पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्वका गढी, किल्ला, दरबार, पदमार्ग, सङ्ग्रहालयको संरक्षण तथा मर्मतसम्भार गर्दै आएको छ । सेनाले संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई थप सुदृढ तुल्याउन कोसिस गरिरहेको छ ।