काठमाडौं। अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार प्रतिष्पर्धा हुदैछ ।
फाइनल खेल बुधबार साँझ ६ बजे दशरथ रंगशाला त्रिपुरेश्वरमा सुरु हुने एन्फाले जनाएको छ । फाइनल खेल अघि दुई देशका टीमले उपाधी जित्ने दावी गरेका छन् । खेल अघि मंगलबार रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली महिला टीमका प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको समूह चरणका खेल निकै राम्रो भएकाले फाइनल खेल आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे ।
फाइनलका लागि थप रणनीतिका साथ मैदान उत्रने उनले बताए । त्यस्तै नेपाली महिला टीमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले टीम राम्रो सेटमा रहेकाले राम्रो नतिजा आउने बताइन् । उपाधी जित्नका लागि शतप्रतिशत दिने उनको भनाइ छ ।
त्यस्तै म्यानमारका प्रशिक्षक र कप्तानले पनि राम्रो प्रदर्शन गर्ने र उपाधी आफ्नो पक्षमा पार्ने बताएका थिए । फाइनल खेलका लागि एन्फाले टिकटको दर समेत बढाएको छ । एन्फा प्रवक्ता सुरेश शाहले भिआइपी तर्फको २ हजार र सामान्य तर्फको १ हजार दर कायम गरिएको र पाँच बर्षमाथिका सवैलाई टिकट लाग्ने व्यवस्था गरिएको जानकारी दिए ।
प्रतियोगीताको सुरक्षालाइ चूस्तदुरुस्त बनाइएको र तयारी राम्रो भएको उनको भनाइ छ ।