

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको सरकार ठूला पूँजीपतिहरूको घुसबाट बनेको आरोप लगाएका छन्।
झापाबाट तराई–मधेश जागरण अभियानको उद्घाटन गर्दै उनले राजनीतिक छलफल वा सिद्धान्तका आधारमा नभई, पूँजीपतिहरूको निर्देशनमा सरकार गठन भएको दाबी गरे।
प्रचण्डले ठूला उद्योगपति र व्यवसायीहरूले आफ्नै घरमा नेताहरूलाई बोलाएर सरकार बनाएको आरोप लगाए।
👉 ‘यो सरकार नेताहरूबीचको छलफलबाट बनेको होइन। पूँजीपतिहरूले आफ्नो घरमा बोलाएर बनाएको हो,’ उनले भने।
👉 ‘यो पूँजीपतिहरूको घुस खाएर बनेको सरकार हो। जनताको पक्षमा होइन, ठूला व्यापारिक घरानाहरूको हितमा काम गर्ने सरकार बनेको छ,’ प्रचण्डले दाबी गरे।
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रता दिएको कारण सत्ता परिवर्तन भएको बताए।
👉 ‘हामीले सुशासनको लागि कडा अभियान चलायौं। ठूला भ्रष्टाचारका मुद्दा उठायौं। त्यसपछि मलाई हटाएर कांग्रेस-एमालेको अप्राकृतिक गठबन्धन बनाइयो,’ उनले भने।
उनले हालको सरकार जनताको पक्षमा भन्दा पनि पूँजीपति र ठूला व्यवसायीहरूको पक्षमा झुकेको आरोप लगाए।
प्रचण्डले माओवादी केन्द्र अब जनताको पक्षमा सशक्त रूपमा अघि बढ्ने बताएका छन्। उनले गठबन्धन राजनीति गर्नुभन्दा जनताको माझमा गएर विश्वास जित्ने रणनीति अवलम्बन गर्ने स्पष्ट पारे।
👉 ‘हाम्रो लक्ष्य सधैं जनताको हित हो। अब हामी गठबन्धनमा अल्झिन्नौं, जनताको म्यान्डेट लिएर सरकार बनाउँछौं,’ उनले बताए।
उनको पछिल्लो अभिव्यक्तिले माओवादी केन्द्रले अब स्वतन्त्र रूपमै आगामी चुनावमा लड्ने संकेत गरेको देखिन्छ।