प्रतिनिधिसभाकाे शून्य समयमा समसामयिक विषयमा सांसदहरूको चासो : कसले के बाेले ?

प्रतिनिधिसभाकाे शून्य समयमा समसामयिक विषयमा सांसदहरूको चासो : कसले के बाेले ?

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विद्युत् आपूर्ति, स्वास्थ्य बीमा, पूर्वाधार विकास, शिक्षा, सुशासन, डिजिटल कारोबार, विपद् व्यवस्थापन तथा महिला सुरक्षालगायतका विषयमा गम्भीर चासो व्यक्त गरे।

विद्युत् आपूर्ति र पूर्वाधार समस्या समाधानको माग

सांसद डोरप्रसाद अर्यालले नेपाल विद्युत् प्राधिकरणले समयमा पोल तथा तार मर्मत नगर्दा धादिङ, गजुरी क्षेत्रमा समस्या भएको भन्दै तत्काल समाधान गर्न माग गरे।
सांसद देवेन्द्र पौडेलले महसुल तिर्नेको लाइन काट्ने तर नतिर्नेको नकट्ने विभेद भइरहेको दाबी गर्दै यस्ता कार्य रोक्न सरकारसँग माग गरे।
सांसद दामोदर वैरागी पौडेलले पोखरा महानगरपालिका र माछापुच्छ्रे क्षेत्रलाई जोड्ने पक्की पुल निर्माण तथा सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिए।
सांसद दीपा शर्माले बाँकेको राँझा क्षेत्रमा सडक तथा पुल जीर्ण बनेका कारण सरोकार निकायले चाँडै समाधान खोज्नुपर्ने बताइन्।

स्वास्थ्य र शिक्षा सुधारका माग

सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमाको रकम अभावमा नदिइएको भन्ने सरकारको भनाइ गलत रहेको बताउँदै स्वास्थ्य बीमा अनिवार्य रूपमा लागू गर्न माग गरिन्।
सांसद दीपकबहादुर सिंहले स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा हासिल गरेका नेपाली जनशक्तिले स्वदेशमै काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे।
सांसद प्रतीक्षा तिवारीले नेपाली विद्यार्थी स्वदेशमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
सांसद प्रभु हजारले वीरगञ्जस्थित पुरानो ठाकुरराम बहुमुखी क्याम्पसको भौतिक सुधार गर्नुपर्ने माग गरे।

सुशासन, डिजिटल कारोबार र विपद् व्यवस्थापनमा जोड

सांसद नारायणी शर्माले देशमा सुशासनको वातावरण बनाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
सांसद निशा डाँगीले प्रधानमन्त्रीले छ महिनाअघि डिजिटल कारोबार निःशुल्क गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको भन्दै तत्काल निःशुल्क गर्न आग्रह गरिन्।
सांसद वासुदेव घिमिरेले क्युआर कोडमार्फत सानो भुक्तानी गर्दा पनि धेरै सेवा शुल्क लाग्ने समस्या हटाउन माग गरे।
सांसद नागिना यादवले हावाहुरीको मौसम सुरु हुन लागेको हुँदा सरकारलाई विपद् व्यवस्थापन तथा पूर्वतयारी योजना बनाउन आग्रह गरिन्।

अन्तर्राष्ट्रिय मामिला र महिला सुरक्षामा चासो

सांसद पूर्णबहादुर घर्ती मगरले नेपाल–अमेरिका सम्झौतामाथि अमेरिकी राष्ट्रपतिबाट आएका टिप्पणीहरूबारे संसदीय छानबिन गर्नुपर्ने माग गरे।
सांसद प्रेमबहादुर महर्जनले भारतको ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालमाथि भएको घटनालाई लिएर नेपाली विद्यार्थी भारतमा सुरक्षित वातावरणमा अध्ययन गर्न पाउने सुनिश्चितता गर्न माग गरे।

सांसद पुष्पबहादुर शाहले भारतको सुरतमा एक नेपाली बालिकामाथि भएको बलात्कार घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल सरकारले पहल गर्नुपर्ने बताए।

खेलकुद पूर्वाधार र वातावरणीय क्षतिपूर्तिको माग

सांसद निर्मला कोइरालाले वीरगञ्जमा निर्माण गरिएको रंगशाला हाल खण्डहर बनेकाले दातृ निकायको सहयोग लिएर भए पनि पुनः निर्माण गर्न माग गरिन्। सांसद प्रेम सुवालले धेरै प्रदूषण गर्ने देशहरूबाट क्षतिपूर्ति तिराउने व्यवस्था गर्न सरकारलाई पहल गर्न आग्रह गरे।

ग्रे लिस्टबाट नेपाललाई हटाउने पहल गर्नुपर्ने माग

सांसद विमला सुवेदीले नेपाल हाल एफएटीएफको ग्रे लिस्टमा रहेको भन्दै सोबाट हट्ने गरी ठोस रणनीति बनाउन सरकारलाई आग्रह गरिन्। सांसदहरूले उठाएका यी महत्वपूर्ण विषयमा सरकार गम्भीर हुनुपर्ने भन्दै तत्काल समाधानका लागि पहल गर्न माग गरेका छन्।