

बेइजिङ। चिनियाँ सामाजिक सञ्जालमा चर्चित प्रभावशाली व्यक्तित्व गु सिक्सी फेरि विवादमा परेकी छन्। उनले ओछ्यानमै सुतेर एकै दिनमा ३ लाख युआन (४३ हजार अमेरिकी डलर) कमाएको दाबी गरेपछि इन्टरनेटमा व्यापक आलोचना भइरहेको छ। अझ उनले यो आम्दानी ‘मेहनतको पैसा’ भनेर व्याख्या गरेपछि विवाद झन् बढेको छ।
साउथ चाइना मर्निङ पोस्टकाअनुसार, गु सिक्सीका ५० लाखभन्दा बढी फलोअर्स छन्। उनले हालै लाइभ स्ट्रिमिङमार्फत आफ्नो आम्दानीबारे खुलासा गरेकी थिइन्।
उनकाअनुसार, फेब्रुअरी ८ देखि १६ सम्म एक प्रमुख लाइभ स्ट्रिमिङ प्लेटफर्मबाट १०.३९ मिलियन युआन (१.४ मिलियन अमेरिकी डलर) बराबरको कारोबार गरिन्। यसबाट उनले २.७९ मिलियन युआन (३८८,००० अमेरिकी डलर) बराबरको कमिशन प्राप्त गरेको बताइन्।
गु सिक्सीको भनाइ झन् विवादास्पद बन्यो जब उनले भनिन्,
“जति धेरै मानिसहरूले मलाई सफल भएको देख्न सक्दैनन्, जति धेरै मलाई आलोचना गर्छन्, त्यति नै म बढी कमाउँछु।”
“यो महिनामा लाखौँ कमाउने कुरा होइन, दिनमै लाखौँ कमाउने कुरा हो, बुझ्यौं?”
उनको यो बयानपछि सामाजिक सञ्जालमा उनलाई आलोचनाको शिकार बनाइयो। धेरै प्रयोगकर्ताले उनलाई ‘निथल्ला’ भन्दै कटाक्ष गरे।
सन् १९९८ मा जियाङसु प्रान्तको नान्तोङमा जन्मेकी गु सिक्सी यसअघि पनि विवादमा परेकी थिइन्।
गु सिक्सीले आफ्नो सम्पत्तिको खुलासा पहिले पनि गरेकी थिइन्।
तर, यी सबै दाबीहरूले उनलाई झन् विवादास्पद बनाउँदै लगेको छ।
इंटरनेटमा व्यापक आलोचना भएपछि, फेब्रुअरी १७ मा उनले लाइभ स्ट्रिममार्फत आफ्नो बचाउ गर्दै भनिन्—
“जे जति कमाएँ, आफ्नै मेहनतले कमाएँ।”
तर, उनको बयानले आलोचनाको आगो निभाएको छैन, बरु झन् चर्काएको छ।