काठमाडौंको अव्यवस्थित विकासलाई सुधार्न ठोस कदम चाल्छाैं: उपप्रधानमन्त्री सिंह

काठमाडौंको अव्यवस्थित विकासलाई सुधार्न ठोस कदम चाल्छाैं: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रूपमा विस्तार भइरहेको काठमाडौंलाई व्यवस्थित बनाउन अब ठोस कदम चालिने बताएका छन्।

आइतबार सहरी विकास मन्त्रालयमा बसेको काठमाडौं उपत्यका भौतिक विकास समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले अव्यवस्थित बन्दै गएको राजधानीलाई सुधार गर्न कुनै न कुनै विन्दुबाट काम सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए।

“कुनै समय उर्बर कृषि भूमि रहेको काठमाडौं आज अव्यवस्थित र कुरुप सहरका रूपमा विकसित भएको छ। विगतका कमजोरी सच्याउन समय लाग्छ, तर हामीले काम अघि बढाउनैपर्छ,” उनले भने।

उनका अनुसार अब बन्ने सहरहरूलाई योजनाबद्ध रूपमा विकास गर्न शहरी नीति मन्त्रिपरिषद्बाट पारित भइसकेको छ। सहरी विकास मन्त्रालय सरकारको कान्छो मन्त्रालय भए पनि आफूले नेतृत्व सम्हालेपछि कामले गति लिएको उनले बताए।

“सहरी विकास मन्त्रालय गठन भएको लामो समय भइसके पनि बल्ल अहिले आएर शहरी विकास नीति पारित भएको छ। अघिल्लो सरकारले पूरा गर्न नसकेका राम्रा योजनाहरूलाई हामीले पूर्णता दिनेछौं,” उपप्रधानमन्त्री सिंहले भने।