जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा कुम्भ स्नान गरी फर्किरहेका नेपाली श्रद्धालु सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्।
शुक्रबार राति उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रअन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किँदा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरूमा तीन जना सप्तरीका र एक जना सुनसरीका छन्। मृतकहरूमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ की लिलादेवी चौधरी, पर्शुराम चौधरी, कञ्चनरुप–५ की हरिहरदेवी यादव र सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादव छन्।
सप्तरी प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार दुर्घटनामा सप्तरीकै शिक्षक उपेन्द्र चौधरी, जितु यादवसहित दुईजना उदयपुरका रहेका छन्, जसको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले जनाएको छ। घाइतेहरूको गोरखपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।
यसअघि पनि भारतको महाकुम्भ मेला स्नानका लागि गएका रुपन्देहीको देवदहका तीन जनाको भारतमै दुर्घटनामा मृत्यु भएको थियो भने पाँच जना गम्भीर घाइते भएका थिए।