काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोन वार्ता गरेकी छिन्।
मन्त्री राणाले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही, तथा नेपाली विद्यार्थीहरूको सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरिन्।
उनले नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई स्थायी रूपमा बर्खास्त गर्न ओडिशा सरकारले पहल गर्नुपर्नेमा जोड दिइन्। साथै, घटनाको छानबिनका लागि विश्वविद्यालयस्तरीय समिति गठन भइसकेको र नेपाली राजदूतावास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिइसकेको जानकारी गराइन्।
मुख्यमन्त्री माझीले घटनालाई गम्भीर रूपमा लिएको र प्रकृति लम्साललाई न्याय दिन उच्चस्तरीय छानबिन समिति गठन गरिएको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।
परराष्ट्र मन्त्रालय र भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूतावास ओडिशा सरकार, विश्वविद्यालय प्रशासन, तथा भारतीय सुरक्षा अधिकारीहरूसँग निरन्तर समन्वयमा रहेको मन्त्री राणाले स्पष्ट पारिन्।