कांग्रेस कार्यसमिति दोब्बर हुने, असोज १५ सम्म विधानको अन्तिम मस्यौदा

कांग्रेस कार्यसमिति दोब्बर हुने, असोज १५ सम्म विधानको अन्तिम मस्यौदा

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकार अब झन्डै दोब्बर हुने भएको छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको विधान संशोधन मस्यौदा समितिले १ सय ५० जनासम्मको कार्यसमिति बनाउने गरी विधान संशोधन गर्न सैद्धान्तिक सहमति जुटाएको छ । अहिले ८० सदस्यीय कार्यसमिति छ । 

काँग्रेसको विधान मस्यौदा समितिले १५ असोज भित्र पार्टीको विधानको अन्तिम मस्यौदा तयार गर्ने गरी काम अघि बढाएको छ । कांग्रेसको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकारसम्मेलन गरी आगामी असोज १५ भित्रै विधानको अन्तिम मस्यौदा तयार गर्ने गरी काम सुरु गरिएको बताएको हो ।

समितिले विधान संसोधनका लागि २१ भदौसम्म सुझाव संकलन गर्ने समेत तयारी गरेको छ । केन्द्रीय विधान समितिले संरचना सम्बन्धि उपसमिति, कार्यविभाजन सम्बन्धि उपसमिति र अन्य निकाय तथा आन्तरिक व्यवस्थापन उपसमिति गठन गरी कार्यविभाजन समेत गरेको छ ।

समितिको विधानको अन्तिम मस्यौदा तयार गर्नुअघि सात वटै प्रदेशमा पुगेर एक प्रदेशमा कम्तीमा एक स्थानमा सुझाव संकलन गर्ने समेत तयारी छ ।