नेपाल -अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु: १७ देशका ४९ फिल्मको प्रतिस्पर्धा

नेपाल -अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु: १७ देशका ४९ फिल्मको प्रतिस्पर्धा

 

काठमाडौं । नेपालका साथै १७ देशका ४९ चलचित्रको सहभागितामा ‘१३औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजनामा सम्पन्न यो महोत्सव आइतबारसम्म चल्नेछ।

नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजित महोत्सवमा दुई चलचित्र अप्रतिस्पर्धी रहेका छन् भने ४७ चलचित्र प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत हुँदैछन्।

चलचित्र प्रवर्द्धन र सांस्कृतिक आदान-प्रदानको माध्यम

कार्यक्रमकाे उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरे। उनले लामो समयदेखि प्रतीक्षित राष्ट्रिय चलचित्र नीति अन्तिम चरणमा पुगेको जानकारी दिँदै धुलिखेलमा इनडोर चलचित्र छायांकन स्टुडियो निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको बताए।

नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलियाले अफ्रिकासँगै विश्वका विभिन्न मुलुकका चलचित्रलाई एउटै मञ्चमा ल्याउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए। महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार यो महोत्सव १४ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको हो, जसमा यस वर्ष अन्य देशका चलचित्र पनि समावेश गरिएका छन्।

प्रतिस्पर्धी चलचित्र र निर्णायक मण्डल

महोत्सवमा १६ देशका १९ अन्तर्राष्ट्रिय चलचित्र छन्। निर्णायक मण्डलमा दक्षिण अफ्रिकाबाट क्याथेरिन सोफियानोस, भारतबाट अंकित बाघ्छी, बंगलादेशबाट साहदत रुसेल तथा नेपालबाट निर्देशक एवं अभिनेत्री रोशनी केसी छन्।

नेपाली प्रतिस्पर्धी चलचित्रतर्फ ३० चलचित्र छन्, जसमा ७ फिचर फिल्म तथा २३ लघु चलचित्र, बृत्तचित्र, भाषाभाषी चलचित्र र विद्यार्थी चलचित्रहरू समावेश छन्। निर्णायकमा निर्देशक मिलन चाम्स, पत्रकार रघुनाथ सापकोटा र गायिका शोभा पाण्डे रहेका छन्।

चलचित्रकर्मी सम्मान र विशेष प्रदर्शन

महोत्सवमा गायक डेभिड शंकर, वरिष्ठ प्रहरी नायव निरीक्षक तथा कलाकार सन्तोष लामा, गायक सुरज पौडेल र सुवास महतलाई सम्मान गरियो। उद्घाटन फिल्मको रूपमा रौनक बिक्रम कँडेल निर्देशित ‘द रेड’ तथा मोरक्कोका निर्देशक मोहम्मद डबानीको अफ्रिकन फिल्म ‘जैद’ प्रदर्शन गरियो।

शनिबार ‘छक्का पञ्जा ५’ तथा अन्य नेपाली एवं अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिँदैछ। साथै, इफेक्ट मेकअप कार्यशाला समेत आयोजना हुनेछ, जसमा दुई दर्जनभन्दा बढी मेकअप आर्टिस्ट सहभागी हुनेछन्।