मुख्यमन्त्रीका ३५ आकांक्षी : क–कसको भाग्य चम्किएला ?

मुख्यमन्त्रीका ३५ आकांक्षी : क–कसको भाग्य चम्किएला ?

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको मतपरिणाम आउँदा नआउँदै मुख्यमन्त्री को हुने भन्ने चर्चा समेत सुरु भएको छ । तर, मुख्यमन्त्रीको आकांक्षा राखिरहेका ३० बढी प्रतिस्पर्धीमध्ये कतिले विजय हासिल गर्लान् भन्ने अर्को चासोको विषय भएको छ ।

संघीय समाजवादी फोरमबाट सबैभन्दा कम ३ जना र एमालेबाट सबै भन्दा बढी १४ जना आकांक्षी देखिएका छन् । काँग्रेस भदा राजपाका बढी आकांक्षी छन् । काँग्रेसबाट ६ र राजपाबाट ७ आकांक्षी देखिएका छन् । माओवादी केन्द्रबाट ५ आकांक्षी छन् ।

केन्द्रीय राजनीति गरिरहेकैहरु प्रदेश सभातिर फर्किएसँगै आकांक्षीको संख्या बढेको हो । चुनावी प्रचारकै क्रममा कतिपयले मुख्यमन्त्रीकै उम्मेदवारका रुपमा समेत मत मागेका थिए ।
पार्टीभित्र छलफल चलेपनि अहिलेसम्म कुनै पनि पार्टीले मुख्यमन्त्रीको आधिकारिक निर्णय गरिसकेका छैनन् ।

को–को छन् आकांक्षी ?
पूर्वपर्यटनमन्त्री तथा दुईपटक सांसद भइसकेका एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार हुन् । मुख्यमन्त्री बन्नैका लागि आचार्य सुनसरी–२ को प्रदेशसभा(ख)बाट उम्मेदवार छन् ।

एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश १ का उपप्रमुख शेरधन राई पनि प्रदेशतिर सरे । उनी भोजपुर–१(ख) बाट प्रदेशसभाको उम्मेदवार बनेका छन् । माओवादी केन्द्रका नेता टंक आम्बुहाङले त मुख्यमन्त्री भनेरै मत मागे । उनी ताप्लेजुङ १(ख)बाट चुनाव लडे ।

प्रदेश २ मा मुख्यमन्त्रीको दौडमा वाम गठबन्धनका तीन जना नेता छन् । एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश २ का संयोजक सत्यनारायण मण्डल, पोलिटब्युरो सदस्य एवं प्रदेश २ का सहसंयोजक नागेन्द्र चौधरी, माओवादी केन्द्रका नेता भरत साह वाम गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रदेश २ मा कांग्रेसबाट पूर्वराष्ट्रपतिका छोरा समेत रहेका नेता डा. चन्द्रमोहन यादव र प्रेमकिशोरप्रसाद साहले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । यादव धनुषा ४(क) र साह धनुषा १(क) बाट प्रदेशसभाको चुनाव लड्न पुगे । यता, राष्ट्रिय जनता पार्टी राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धनले बहुमत ल्याए आफ्नै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने जिकिर गर्दै आएका छन् । तर, चुनावी परिणाम आउन बाँकी नै छ ।

राजपा नेपालबाट राजकुमार लेखी, मनीष सुमन, परमेश्वर साह, सुरिता साह, रानी शर्मा तिवारी, उपेन्द्र महतो र जितेन्द्रप्रसाद सोनारको चर्चा छ । लेखी सप्तरी–१(क), सुमन सप्तरी–२(ख), साह धनुषा–३(ख), सुरिता महोतरी–२(ख), तिवारी महोतरी–३(ख), महतो सर्लाही–१(क) र सोनार बारा–४(ख) बाट चुनाव लड्न पुगेका छन् ।

संघीय समाजवादीबाट उपाध्यक्ष लालबाबु राउत, पारसप्रसाद साह, शैलेन्द्र साह मुख्यमन्त्रीको दाबेदार हुन् । राउत पर्सा–१(ख), पारस बारा–३(ख) र शैलेन्द्र सप्तरी–२(क) बाट उम्मेदवार छन् । प्रदेश ३ मा एमाले उपाध्यक्ष एवं प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे, अरुण नेपाल, पशुपति चौलागाईंको दाबी छ ।

माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र कांग्रेसबाट इन्द्र बानियाँले भावी मुख्यमन्त्रीका रूपमा दाबी गरिरहेका छन् । प्रदेश ४ को मुख्यमन्त्रीका लागि एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ चर्चामा छन् । पूर्वपर्यटनमन्त्री एवं पूर्वसांसद सुब्बाले आफू पार्टीको सचिव एवं संगठन विभाग प्रमुखसमेत भएकाले आफू नै भावी मुख्यमन्त्री बन्नुपर्ने भनिरहेका छन् । किरण तनहुँ–२(ख) र पृथ्वीसुब्बा लमजुङ–१(ख)बाट प्रदेशसभाका उम्मेदवार छन् ।

माओवादी केन्द्रबाट प्रदेश ४, ५ र ७ मा कसैले पनि मुख्यमन्त्रीको दाबी गरेका छैनन् । कांग्रेसबाट प्रदेश ४ मा ध्रुव वाग्लेले दाबी गरेका छन् । तनहुँ–२(ख) बाट प्रदेशसभाका उम्मेदवार वाग्ले तनहुँका पूर्वपार्टी सभापति र पूर्वसांसद समेत हुन् । प्रदेश ५ मा वाम गठबन्धनको तर्फबाट मुख्यमन्त्रीका एक मात्र उम्मेदवारका रूपमा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल छन् । उनी दाङ २ (क)बाट उम्मेदवार छन् ।

प्रदेश ५ मा मुख्यमन्त्रीका लागि कांग्रेसबाट कसैले खुलेर दाबी गरेका छैनन् । प्रदेश ६ मा एमाले पोलिटब्युरो सदस्य यमलाल कँडेल र प्रकाश ज्वालाले दाबी गरिरहेका छन् । यसअघि संसदीय समितिमा रहेर चर्चा कमाएका ज्वालाको चर्चा बढी नै छ ।

माओवादीबाट प्रदेश ६ को भावी मुख्यमन्त्रीका लागि ऊर्जामन्त्री भइसकेका महेन्द्रबहादुर शाही तथा नरेश भण्डारीको चर्चा छ । प्रदेश ६ मै कांग्रेसबाट भावी मुख्यमन्त्रीका लागि पूर्वपर्यटन तथा खानेपानी मन्त्री भइसकेका जीवनबहादुर शाहीको दाबी छ ।

प्रदेश ७ मा एमालेबाट कर्णबहादुर थापाले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । पोलिटब्युरो सदस्य थापा प्रदेशसभामा समानुपातिकको उम्मेदवार छन् । काँग्रेसबाट कञ्चनपुर २(ख) बाट उम्मेदवार रहेका बहादुरसिंह थापाले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । उनी निवर्तमान सांसद पनि हुन् । यी आकांक्षीहरुको भाग्य प्रदेशसभाको नतिजाले खोल्ने छ । -हाम्राकुराबाट