स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने

स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आफ्नो साप्ताहिक गतिविधि तथा नीतिगत निर्णयबारे नियमित भिडियो ब्रिफिङ गर्ने भएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार फागुन ९ गतेदेखि प्रत्येक शुक्रबार दिउँसो १:३० बजे भिडियो ब्रिफिङ गरिनेछ। यसमा साताभर भएका नीतिगत परिवर्तन, मन्त्रालयका गतिविधि तथा स्वास्थ्यसम्बन्धी जानकारी समेटिनेछ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नागरिकलाई स्वास्थ्यसम्बन्धी सूचना सजिलै उपलब्ध गराउन निर्देशन दिएपछि यो पहल सुरु गरिएको हो। यसअघि उनले नागरिकका गुनासा सम्बोधन गर्न ‘हेल्लो स्वास्थ्य’ कार्यक्रम सञ्चालन गर्ने निर्णय लिएका थिए, जसले हटलाइन नम्बर १११५, सामाजिक सञ्जाल तथा इमेलमार्फत जनगुनासा संकलन गर्दै आएको छ।

सञ्चार पहुँच विस्तार

मन्त्रालयले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत ब्रिफिङलाई प्रभावकारी बनाउन तयारी गरेको छ। कोभिड महामारीको समयमा गरिएको नियमित अपडेट जस्तै, अहिले पुनः भिडियो ब्रिफिङलाई स्थायी रुपमा अघि बढाउन लागिएको हो।

स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दै आए पनि भिडियो ब्रिफिङले जनतासम्म स्वास्थ्यसम्बन्धी जानकारी अझ प्रभावकारी रूपमा पुर्‍याउने अपेक्षा गरिएको छ।