

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) बाट अलग भएर नयाँ पार्टी गठन गर्नु आफ्नो सही र न्यायोचित निर्णय भएको बताएका छन्।
ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दक्षिणपन्थी अवसरवादविरुद्धको विद्रोह अपरिहार्य भएको दाबी गरे।
‘क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्नु आवश्यक थियो। आजको राजनीतिक घटनाक्रमले हाम्रो निर्णय सही रहेको पुष्टि गरिरहेको छ,’ उनले भने।
अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) कुनै पनि पार्टीसँग एकता गर्ने योजनामा नरहेको स्पष्ट पारे।
‘हाम्रो पार्टी एमालेसँग मिल्दैछ भन्ने हल्ला छ, कसैले माओवादीसँग मिल्ने अड्कल काटेका छन्। यस्ता कुप्रचारहरूको भ्रममा पर्न जरुरी छैन,’ उनले भने।
उनले पार्टीलाई सशक्त र प्रभावकारी बनाउन केन्द्रित हुने बताउँदै, ‘हामी आफ्नो पार्टीलाई बलियो बनाउन चाहन्छौं। यसमा कुनै अन्यौल र द्विविधा राख्न आवश्यक छैन,’ भने।
अध्यक्ष नेपालले वामपन्थी, समाजवादी तथा परिवर्तनकारी शक्तिहरूसँग सहकार्य आवश्यक रहेकोमा जोड दिए।
‘समाजको विकास र अग्रगमनका लागि मित्र शक्तिहरूलाई एकताबद्ध गर्न आवश्यक छ। पछाडि फर्कन खोज्ने शक्तिहरूसँग जुध्न अग्रगामी शक्तिहरूबीच सहकार्य हुनुपर्छ,’ उनले भने।
नेपालले देशका समसामयिक घटनाक्रमले एकीकृत समाजवादीको आवश्यकता अझै प्रस्ट पारेको दाबी गर्दै अगामी रणनीति प्रभावकारी बनाइने उल्लेख गरे।