सहिद परिवारलाई आयोग गठनमार्फत बाँकी काम पूरा गर्ने प्रचण्डको प्रतिबद्धता

सहिद परिवारलाई आयोग गठनमार्फत बाँकी काम पूरा गर्ने प्रचण्डको प्रतिबद्धता

पोखरा: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्दै बाँकी काम पूरा गर्न आयोगमार्फत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार तनहुँको दुलेगौडामा आयोजित कार्यक्रममा उनले जनयुद्धका सहिद र बेपत्ताहरूको सम्मान, राहत तथा न्यायका लागि आफ्नो नेतृत्वको सरकारले महत्वपूर्ण काम गरिसकेको दाबी गरे।

‘हामीले सरकारको नेतृत्व गर्दा जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने र सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन टुंगो लगाउने जस्ता महत्वपूर्ण निर्णय गरेका छौँ। अब आयोग बनाएर बाँकी काम पूरा गर्न संघर्ष गर्छौं,’ प्रचण्डले भने।

सहिद परिवारका प्रतिनिधिहरूले सहिद तथा बेपत्ताहरूको सम्मान, परिवारको संरक्षण र राहतका लागि खेलेको भूमिकाबारे धन्यवाद व्यक्त गर्दै बाँकी कार्यसूची पूरा गर्न आयोग गठनमा ध्यान दिन आग्रह गरेका थिए।