पनामा । अमेरिकी सरकारको आप्रवासन नीतिअन्तर्गत पनामाको एक होटलमा ३०० भन्दा बढी आप्रवासीलाई हिरासतमा राखिएको छ। तीमध्ये नेपालीसहित भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, चीन, भियतनाम र इरानका नागरिकहरू छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गैरकानुनी रूपमा बसेका आप्रवासीहरूलाई फिर्ता पठाउने अभियान तीव्र बनाएपछि यो कदम उठाइएको हो। हाल सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा हिरासतमा रहेका आप्रवासीहरूले ‘हामीलाई मद्दत गर्नुहोस्’ लेखिएको पोस्टर देखाउँदै सहयोगको याचना गरिरहेका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार हिरासतमा रहेका ४० प्रतिशत आप्रवासीहरू आफ्नो देश फर्कन अस्वीकार गरिरहेका छन्। समस्या समाधान नभएसम्म उनीहरूलाई होटलमै राखिने बताइएको छ। पनामाका सुरक्षा मन्त्री फ्रान्क एब्रेगोले उनीहरूलाई उचित सुरक्षा, खाना, पानी र चिकित्सा सहायता उपलब्ध गराइएको जनाएका छन्।
ट्रम्प प्रशासनको कठोर आप्रवासन नीतिले विश्वभर चासो बढाएको छ भने प्रभावित आप्रवासीहरू अन्योलमा परेका छन्।