काठमाडौं । नेपाल र म्यानमारले एक खेल खेल्नुअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेका छन्। बिहीबार नेपालले लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
सावित्राको निर्णायक गोलले नेपाललाई जित
खेलको ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई लागेर डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। खेलभरि दुवै टोलीले गोलका धेरै अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्।
१३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसके पनि गोल गर्न सकिनन्।
१५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो।
३१औं मिनेटमा लेबनानले अर्को सुनौलो मौका गुमायो, जब लेला इस्कन्दरले थ्रु पास सदुपयोग गर्न सकिनन्।
इन्जुरी समयमा जहवा अराबीको प्रहार बारमा लागेर फर्कँदा लेबनान बराबरी गर्नबाट चुकेको थियो।
नेपालको अग्रता कायम
दोस्रो हाफमा नेपालले आफ्नो अग्रता जोगाउन सफल भयो।
५९औं मिनेटमा साम्बाको पासमा सावित्राले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो।
८६औं मिनेटमा सावित्राको अर्को प्रहार गोल पोस्टको दिशा लिन सकेन।
यो जितसँगै नेपालले फाइनलमा म्यानमारसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। च्याम्पियनसिपमा आइतबार लिगमा पहिलो खेल २ बजे लेबनान र कीर्गिस्तान तथा दोस्रो खेल साँझ ६ नेपाल र म्यानमारबिच हुनेछ।