काठमाडौं । चरेस तस्करीको नयाँ तरिका अपनाउँदै जर्किनभित्र लुकाएर लैजान खोजिएको ११ किलो ४०० ग्राम चरेससहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-२ की ३० वर्षीया आरती यादव रहेकी छन्। वीरगन्ज महानगरपालिका-१६ बसपार्कमा कोठा भाडामा लिएर बस्दै आएकी उनलाई बुधबार राति ८ बजे पर्सा प्रहरीले पक्राउ गरेको हो।
शंकराचार्य गेटमा चेकजाँचका क्रममा प्रहरीले यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। “नेपालबाट भारत जाने क्रममा शंका लागेपछि उनको साथमा रहेको जर्किन जाँच्दा सानो-सानो पोका बनाई प्लास्टिकभित्र लुकाइएको चरेस फेला परेको हो,” मिश्रले भने।
यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार उनी मात्र भरिया हुनसक्ने र चरेसको स्रोत पत्ता लगाउने काम भइरहेको छ। यसअघि, मंगलबार प्रहरीले जिराभवानी गाउँपालिका-५ को भलुवाही खोलास्थित झाडीबाट ११ किलो ९५० ग्राम चरेस बरामद गरेको थियो।
चरेस तस्करीमा नयाँ-नयाँ तरिका अपनाइँदै आएको देखिएको छ। गत शुक्रबार मात्र सर्लाही विष्णुपुर गाउँपालिका-४ का ४५ वर्षीय सुधीर कर्णलाई वीरगन्ज-१६ चालिस फिट्टे सडकबाट जर्किनमा लुकाइएको साढे ११ किलो चरेससहित पक्राउ गरिएको थियो। “खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले जर्किनजस्ता सामग्री प्रयोग गरेर चरेस ओसारपसार गरिरहेको पाइएको छ,” प्रहरी उपरीक्षक मिश्रले बताए।