सामाजिक र आर्थिक क्रान्तिको अगुवाइ कांग्रेसले गर्दै आएको छ: प्रवक्ता महत

सामाजिक र आर्थिक क्रान्तिको अगुवाइ कांग्रेसले गर्दै आएको छ: प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले नेपालमा सामाजिक तथा आर्थिक क्रान्तिको नेतृत्व कांग्रेसले गर्दै आएको बताएका छन्।

नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा सम्पन्न २३औं जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सात दशकदेखि कांग्रेसले यो अभियानलाई अगाडि बढाइरहेको उल्लेख गरे।

‘सामाजिक तथा आर्थिक क्रान्तिलाई राजनीतिक द्वन्द्वले केही समय प्रभावित गर्‍यो, तर २००७ सालदेखि २०१७ साल, २०४६ सालको आन्दोलन, २०६२/६३ को जनआन्दोलनदेखि शान्ति स्थापना र संविधान कार्यान्वयनसम्म कांग्रेसले नै अगुवाइ गरेको छ,’ महतले भने।

उनले बल प्रयोग नगरी जनताको मत जितेर सत्तामा जानुपर्ने मान्यता कांग्रेसले स्थापित गरेको उल्लेख गर्दै, सत्यको मुख बन्द हुँदा झूटको थुतुनो खुल्ने अवस्था आएकोले सत्यको पक्षमा उभिनुपर्ने आवश्यकता औंल्याए। महतले आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने दाबी समेत गरे।