एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) ले नयाँ दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका हुन् । नयाँ दिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।
नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह बिहीबार मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ । गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।
यस्तै, प्रवेश वर्मा उपमुख्यमन्त्री र विजेन्द्र गुप्ता विधानसभा अध्यक्ष हुने भएका छन् । हालै भएको बिधानसभा निर्वाचनमा दिल्लीमा भाजपा विजयी भएको थियो । उसले ७० मध्ये ४८ सिटमा विजय प्राप्त गरेको थियो ।