प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदै, न्यायको मागमा विद्यार्थी आन्दोलित

प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदै, न्यायको मागमा विद्यार्थी आन्दोलित

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत अवस्थामा भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदै छ। शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको पहलमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेज प्रशासनसँग समन्वय भइरहेको प्रकृतिका आफन्तहरूले जनाएका छन्। प्रकृतिकी फुपू सीता ढकालकाअनुसार शव आज साँझसम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।

२० वर्षीय प्रकृति गत आइतबार अपराह्न होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। शङ्कास्पद मृत्युको खबर सुनेपछि उनका बुबा सुनिल लम्साल ओडिसा पुगेका छन्। मंगलबार उनले प्रहरी अधिकारीहरूसँग भेट गर्दै छानबिन गरी न्याय दिन आग्रह गरेका थिए।

घटनापछि विद्यार्थीहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन सुरु गरेका थिए। तर, विश्वविद्यालय प्रशासनले प्रदर्शनकारीहरूमाथि दमन गरेको आरोप लागेको छ। चर्को आलोचना पछि प्रशासनले केही कर्मचारीलाई बर्खास्त तथा निलम्बन गरेको छ। नेपाली विद्यार्थीलाई धम्क्याएको आरोप लागेकी प्राध्यापक मन्जुशा पाण्डेले माफी मागेकी छन्। यस घटनाबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेको छ। ओडिसा सरकारले छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।

यसैबीच, प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। श्रीवास्तवले पटक–पटक यातना दिएको प्रमाणसहित उजुरी दिँदा पनि विश्वविद्यालय प्रशासनले लापरबाही गरेको भन्दै केआईआईटी कलेजको आलोचना भइरहेको छ। घटनालाई लिएर नेपाल र भारत दुवै देशका विद्यार्थी आन्दोलित छन् भने नेपाली संसदमा समेत विषय उठाइएको छ।