सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँमा पुग्यो, ७ महिनामा १ खर्ब ७६ अर्बको वृद्धि

सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँमा पुग्यो, ७ महिनामा १ खर्ब ७६ अर्बको वृद्धि

काठमाडौं। सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म आन्तरिक र बाह्य ऋण मिलाएर कुल ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको हो।

माघ मसान्तसम्म आन्तरिक ऋण दायित्व १२ खर्ब ८२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण दायित्व १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ।

गत असार मसान्तसम्म कुल ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो। चालु आर्थिक वर्षको सात महिनामा आन्तरिक र बाह्य ऋण एक खर्ब ७६ अर्ब ९७ करोड रुपैयाँले वृद्धि भएको छ।

यस ऋणको कुल गार्हस्थ उत्पादनको ४५.७७ प्रतिशत रहेको बताइएको छ। चालु आर्थिक वर्षको सात महिनामा सरकारले कुल एक खर्ब ५० अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ। यसमा आन्तरिक ऋणतर्फ एक खर्ब २७ अर्ब २४ करोड र बाह्य ऋणतर्फ २२ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी गरिएको छ।