काठमाडौं। एमालेका पूर्व नेता र मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री के.पी. शर्मा ओली माथि कडा आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले प्रधानमन्त्री ओलीलाई देश र जनताप्रति जिम्मेवार नभएको टिप्पणी गरेका छन्।
रावलले १५ बुँदे आरोपपत्र सार्वजनिक गर्दै ओलीले व्यक्तिगत कुण्ठाका कारण आफूलाई एमालेबाट निकालिएको बताएका छन्। उनले ओलीको कार्यशैलीलाई जनविरोधी भन्दै, फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलाप मा संलग्न व्यक्तिहरूलाई कारबाही नगरी, उल्टै राज्य र पार्टीका महत्वपूर्ण पद र अवसर दिने काम गरेको आरोप पनि लगाएका छन्।
रावलले ओलीको भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्ने कार्यशैलीलाई पनि आलोचना गर्दै, अध्यादेश ल्याउने र सांसदहरूलाई छलफल गर्न रोक्ने निर्णयलाई जनविरोधी ठहराएका छन्। साथै, उनले ओलीले पार्टीका जनसंगठन र अन्य समितिहरूको चयन प्रक्रिया प्रभावित गर्दै, आफ्ना अन्धभक्तहरूलाई नेतृत्वमा ल्याउने प्रयास गरेको आरोप लगाएका छन्।