काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत क्षेत्रको विकास सर्वसाधारणको लगानी बाट सम्भव भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजनाको आईपीओमा लगानी गर्दा जोखिम भए पनि नियमन गरी सेयर खोल्नु पर्ने पक्षमा धारणा राखेको छ।
घिसिङले विद्युत प्राधिकरणले १२ हजार मेगावाटको विद्युत खरिद विक्री सम्झौता (पीपीए) गरेको जानकारी दिँदै, हाल सञ्चालनमा रहेका ३५०० मेगावाट का आयोजना मध्ये हिउँदमा मात्र ११ सय मेगावाट उत्पादन भएको बताए।
प्राधिकरणले २८ हजार ५०० मेगावाट विद्युत पुर्याउनको लागि अझै पीपीए खोल्ने पक्षमा रहेको घिसिङको भनाइ छ। उनले भने, “हालका सबै पीपीए भएका परियोजनाहरू निर्माणको चरणमा पुगेका छैनन्। पीपीए गरेर निर्माण नगर्ने तर नयाँ पीपीए गर्नुपर्ने माग राख्नु कति उचित हो?”
नेपाल सरकारले भारतसँग क्रसबोर्डर प्रसारण लाइन सञ्चालनमा गरेको सम्झौताले भारतलाई आम्दानीको ग्यारेन्टी दिएको उल्लेख गर्दै घिसिङले भने, “प्राधिकरणसँग पीपीए सम्झौता गरेर आयोजना ओगटेर राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेछ।”
अर्कोतर्फ, प्राधिकरण ७ खर्बको सम्पत्ति राखेर बसेको भन्दै अब सर्वसाधरणका लागि प्राथमिक सेयर खोल्ने तयारी गरेको जानकारी दिए। प्राधिकरणले २० प्रतिशत सेयर जारी गर्ने तयारीमा रहेको छ।