‘सांसद गौतम र श्रेष्ठले संसदीय प्रक्रियाबाहिर गएर दबाब सिर्जना गर्न खोजे’

‘सांसद गौतम र श्रेष्ठले संसदीय प्रक्रियाबाहिर गएर दबाब सिर्जना गर्न खोजे’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय सोविता गौतम र सुमना श्रेष्ठले संसदमा बोल्न नदिएको भन्दै गरिरहेको प्रचारबाजीप्रति सभामुख देवराज घिमिरेले चासो व्यक्त गरेका छन्।

सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार सांसद सोविता गौतमले माघ २७ गते पारित भइसकेको विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकबारे माघ २८ गते आकस्मिक समय मागेकी थिइन्। तर, सभामुखले विधेयक पारित भइसकेपछि सोही विषय आकस्मिक हुन नसक्ने बताउँदै अन्य कुनै विषय भए राख्न सकिने सुझाव दिएका थिए।

सभामुख घिमिरेकाअनुसार सो विधेयक पारित हुनुअघि नै उनले कानून मन्त्री, उपसभामुख, प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। सोही छलफलको सहमतिअनुसार विधेयक अगाडि बढाइएको थियो। तर, सांसद गौतमले प्रक्रियागत त्रुटि भएको भन्दै संसदमा बोल्न समय मागेकी थिइन्, जुन आकस्मिक विषयअन्तर्गत नपर्ने भन्दै सभामुखले अस्वीकृत गरे।

फागुन ५ गते संसद बैठक सुरु हुने संकेतस्वरूप जनाउ घण्टी बजिसकेपछि सांसद सुमना श्रेष्ठ भारतमा नेपाली विद्यार्थी समस्यामा परेको विषय उठाउन समय माग्न पुगेकी थिइन्। तर, सभामुख घिमिरे सो समय च्याम्बरबाट उठेर बैठक कक्षतर्फ जाँदै थिए, जसकारण उनले श्रेष्ठको मागबारे जानकारी पाउन सकेनन्।

सभामुखको प्रेस संयोजक अधिकारीका अनुसार सभामुखले भनेका थिए, “जनाउ घण्टी बजिसकेकोले म तपाईंको माग बुझ्न पाइनँ। तपाईंले अगाडि नै जानकारी गराउनुभएको भए हुन्थ्यो। यदि यो उठाउनुपर्ने विषय हो भने सांसद अशोक चौधरीलाई भन्नुहोस्, उहाँले राख्न सक्नुहुन्छ। या त भोलि उठाउनुहोस्।”

यो जानकारी दिँदा रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि त्यहाँ उपस्थित थिए, तर कुनै दलीय अनुरोध आएको थिएन।

सभामुख घिमिरेको सचिवालयका अनुसार आकस्मिक विषय उठाउने भए उपसभामुखको अध्यक्षतामा चलिरहेको बैठकमा सभामुखलाई जानकारी दिएर राख्न सकिन्थ्यो, जुन संसदीय अभ्यास हो। तर, प्रक्रियाअनुसार नगरी मिडिया र सामाजिक सञ्जालमा प्रचारबाजी गरिएको सभामुखको सचिवालयले जनाएको छ।

संसद बैठक सुरु हुनुभन्दा अर्धघण्टा अघि औसत २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा पुग्ने गर्छन्, तर केवल ८ देखि १० जनाले मात्र आकस्मिक समय पाउने गरेका छन्। कतिपय अवस्थामा नियमावलीभन्दा बाहिरका विषय उठ्ने गरेकाले कार्यव्यवस्थामै आलोचना हुने गरेको सभामुखको सचिवालयले स्पष्ट पारेको छ।

“हिजो संसद बैठकमा बोल्न नदिएको भन्दै सांसद सुमना श्रेष्ठ बैठकस्थलबाट बाहिरिएर मिडियामा टिप्पणी गरेपछि सभामुखको सचिवालयले यो स्पष्टीकरण दिएको हो,” सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।