एजेन्सी । विदेशस्थित नेपाली दूतावास भएका र नेपालमा आवासीय राजदूतावास रहेका मुलुकमा संसदीयमैत्री समूह गठनको प्रक्रिया शुरु गरिएको छ । सङ्घीय संसद्ले यस्तो प्रक्रिया शुरु गरेको हो भने सभामुख कृष्णबहादुर महराले नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा रहने सांसदको नाम घोषणा गरेर उक्त प्रक्रियाको आज शुभारम्भ गरेका छन् ।
बताइएअनुसार पहिलो चरणमा भारत, चीन र अष्ट्रेलियाका लागि संसदीयमैत्री समूह गठन हुनेछ । प्रत्येक मुलुकका लागि गठन हुने संसदीयमैत्री समूहमा १५ जना सदस्य रहने छन् ।
सांसद भीम रावलको नेतृत्व रहने नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा सांसद योगेश भट्टराई, जयपुरी घर्ती, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, लेखराज भट्ट र उमेश श्रेष्ठलगायत रहेका छन् । अष्ट्रेलियाले पनि नेपालका लागि ३७ सदस्यीय संसदीयमैत्री समूह गठन गरिसकेको छ ।
नेपाल –अष्ट्रेलिया संसदीयमैत्री समूहको शुभारम्भ गर्दै सभामुख महराले मैत्री समूहले दुई देशबीचको कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन योगदान पु¥याउने विश्वास व्यक्त गरे भने अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध विस्तारमा संसदीयमैत्री समूह गठनको घोषणा नौलो र ऐतिहासिक क्षण भएको बताइन् ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडले दुवै देशमा लोकतन्त्रको विकासका लागि भइरहेको अभ्यासबारे जानकारी गर्न, संसदीय अनुभाव आदानप्रदान गर्न, विकासका क्षेत्र पहिल्याउन तथा पर्यटन प्रवर्र्धन गर्नसमेत मैत्री समूह गठनबाट योगदान पुग्ने विश्वास व्यक्त गरे ।