केआईआईटीले भन्यो : नेपाली विद्यार्थीमाथि लगाइएको निलम्बन फिर्ता

केआईआईटीले भन्यो : नेपाली विद्यार्थीमाथि लगाइएको निलम्बन फिर्ता

काठमाडौं: भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालयबाट निष्कासन गर्ने निर्णय फिर्ता लिएको छ।

विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनाबारे निष्पक्ष छानबिनको माग गरेपछि नेपाली विद्यार्थीहरूलाई निष्कासन गरिएको थियो। तर चौतर्फी विरोधपछि सोमबार साँझ विश्वविद्यालयले सूचना जारी गर्दै उनीहरूलाई अध्ययन सुचारु गर्न आग्रह गरेको छ।

“क्याम्पस र छात्रावासमा सामान्य अवस्था ल्याउने प्रयास भइरहेको छ। क्याम्पस छाडिसकेका वा छाड्ने योजना बनाएका सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई फर्केर अध्ययन सुचारु गर्न अपील गरिन्छ,” विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

त्यसैगरी, विश्वविद्यालयले प्रकृति लम्साल मृत्यु प्रकरणसँग जोडिएको आरोपी पक्राउ परिसकेको जानकारी पनि गराएको छ। यसअघि, केआईआईटी प्रशासनले नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो।

त्यसैगरी, भारतस्थित नेपाली दूतावासले पनि प्रकृति लम्सालको मृत्युसम्बन्धी निष्पक्ष छानबिन र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि भारतको केन्द्र सरकार, राज्य सरकार तथा विश्वविद्यालय प्रशासनसँग निरन्तर संवाद भइरहेको जनाएको छ।