बैंकिङले उचाल्यो सेयर बजार, १० अर्ब नाघ्यो कारोबार

बैंकिङले उचाल्यो सेयर बजार, १० अर्ब नाघ्यो कारोबार

काठमाडौं । सोमबार सेयर बजारको प्रमुख परिसूचक नेप्से २९.८७ अंक (१.१० प्रतिशत) बढ़ेर २७२७ अंकमा पुग्यो। यस वृद्धि संगै, बजारको कारोबार रकम पनि बढेर १० अर्ब ४ करोड पुगेको छ। अघिल्लो दिनको कारोबार रकम ९ अर्ब ४७ करोड थियो।

आज १६६ कम्पनीका मूल्य वृद्धि भएका छन्, भने ७४ कम्पनीको मूल्य घटेको छ र ४ कम्पनीका मूल्य स्थिर रहे। बैंकिङ सेक्टरमा आएको उल्लेखनीय वृद्धि का कारण समग्र बजार सकारात्मक भएको देखिन्छ। यो क्षेत्र पूँजीकरणका आधारमा सबैभन्दा ठूलो भएकाले यसले बजारमा ठूलो प्रभाव पारेको छ। बैंकिङ क्षेत्र आज २.१६ प्रतिशत बढ्यो।

अन्य क्षेत्रमा पनि वृद्धि देखिएको छ, जसमा विकास बैंक ०.३३ प्रतिशत, होटल तथा पर्यटन २.२९ प्रतिशत, लगानी ०.२० प्रतिशत, जीवन बीमा ०.८९ प्रतिशत, उत्पादन ०.७७ प्रतिशत, माइक्रोफाइनान्स २.४५ प्रतिशत, निर्जीवन बीमा १.०७ प्रतिशत, र अन्य समूह २.४७ प्रतिशत बढेका छन्। यद्यपि, व्यापार १.२७ प्रतिशत, हाइड्रोपावर ०.१५ प्रतिशत र फाइनान्स ०.८४ प्रतिशत घटेका छन्।

आजको कारोबारमा ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ, जसमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, र दिव्यश्वरी हाइड्रोपावर छन्।

अर्कोतर्फ, सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत घटेको छ। साथै, सेन्ट्रल फाइनान्स को मूल्य ४.५ प्रतिशत, ग्रीन डेभलपमेन्ट को मूल्य ४.२ प्रतिशत, र बेस्ट फाइनान्स को मूल्य ३.८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स फाइनान्स, र युनाइटेड इदी मर्दी हाइड्रोपावर क्रमशः अग्रस्थानमा रहेका छन्।