काठमाडौं । प्रतिनिधि सभा तर्फ काठमाडौं क्षेत्र नं १ का नवनिर्वाचित सांसद् एवं काँग्रेस नेता प्रकाशमान सिंहले विपीको विचारलाई समृद्धिसम्ग जोड्नुपर्ने बताएका छन् । जीत पछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता सिंहले काँग्रेसका संस्थापक नेता विपी कोइरालाको विचारलाई समयसापेक्ष बनाएर समृद्धिसँग जोड्नुपर्ने बताएका छन् ।
उनले पार्टीले पछिल्लो समय चित्त बुझ्दो परिणाम नल्याएको भन्दै यसमा जनताले रोजेजस्तो पार्टी निर्माण तर्फ सबैले ध्यान दिनुपर्ने प्रतिक्रिया दिए । ‘जनताको मत हो, जनताको मतलाई गम्भीर रुपमा ध्यान दिनुपर्छ। पार्टीभित्र सुधारको आवश्यकता देखेको छु।’ उनले भने ।
काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये सबैभन्दा पहिले मतपरिणाम सार्वजनिक भएको काठमाडौं क्षेत्र नं १ मा नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह विजयी भएका हुन् । उनले कूल १० हजार नौ सय ३६ मत आउँदा उनका निकटतम प्रतिस्पर्धी १० हजार १ सय १८ मत ल्याउँदै विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र दोस्रो भएका छन् ।