प्रकृतिको दोहनले मानव जीवन नै संकटमा : पूर्वराष्ट्रपति यादव

प्रकृतिको दोहनले मानव जीवन नै संकटमा  : पूर्वराष्ट्रपति यादव

महेन्द्रनगर: पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रकृतिको दोहनका कारण मानव जीवन नै संकटमा पर्न थालेकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। जनकपुरधाममा आयोजित ‘म बनाउँछु नेपाल’ बहस कार्यक्रममा बोल्दै उनले पहाडमा अनियन्त्रित डोजर प्रयोग र तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननले मुलुकको जल तथा खाद्यान्न सुरक्षामा गम्भीर असर पर्न थालेको बताए।

पूर्वराष्ट्रपति यादवले चेतावनी दिँदै भने, “यस्तै अवस्था रहिरहे, केही दशकमा नेपालमा पानीको संकट गहिरिनेछ र खाद्यान्नको अभाव उत्पन्न हुनेछ।” उनका अनुसार चुरेको अनियन्त्रित दोहन तत्काल रोकिएन भने जलस्रोतको संकट तीव्र बन्नेछ। उनले चुरे क्षेत्रलाई हराभरा बनाउनेतर्फ सबै पक्षको ध्यान जान जरुरी रहेको बताए। पूर्वराष्ट्रपति यादवको भनाइ अनुसार, यदि समयमै प्रकृति जोगाउन सकिएन भने नेपाल गम्भीर जलवायु संकटतर्फ धकेलिनेछ।

पूर्वराष्ट्रपति यादवले पहाडमा अनियन्त्रित रूपमा डोजर चलाइरहेको र तराईमा अवैध क्रसर उद्योग बढ्दै गएको बताए। उनले प्राकृतिक स्रोतको असन्तुलित दोहनका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको उल्लेख गरे।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिंचाइका लागि दुई अर्ब १५ करोड रुपैयाँको टेन्डर गरिएको जानकारी दिए। मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा डेढ अर्ब रुपैयाँको स्यालो ट्युबवेल जडानले थप ६० हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुग्ने बताए। उनले सडक सुरक्षाका लागि प्रदेश प्रहरीसँग सहकार्य गरेपछि मधेस प्रदेशमा सवारी दुर्घटनामा ५० प्रतिशतले कमी आएको दाबी गरे।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले देशमा राजनीतिक स्थायित्व नभएसम्म विकास र समृद्धि सम्भव नहुने बताए। उनले प्राकृतिक स्रोतहरूको दिगो संरक्षण र व्यवस्थापनबिना दीर्घकालीन समृद्धि हासिल गर्न नसकिने बताए।

कार्यक्रमका अर्का वक्ता चिकित्सक डा. ओम अनिल मूर्तिले हावा, पानी, माटो र वायुको सन्तुलन नभए मानव जीवन नै संकटमा पर्ने चेतावनी दिए। उनले मानव जातिले प्रकृतिमा अनावश्यक हस्तक्षेप गर्दा वातावरणीय सन्तुलन बिग्रिने र दीर्घकालीन रूपमा यसको ठूलो मूल्य चुकाउनु पर्ने बताए। कार्यक्रमका वक्ताहरूले प्राकृतिक स्रोतहरूको दिगो संरक्षण र दीर्घकालीन विकास योजनामा जोड दिनुपर्नेमा विशेष जोड दिएका थिए।