काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि कतार सरकारलाई विशेष पहल गर्न आग्रह गरेकी छन्।
आइतबार ओमानको राजधानी मस्कटमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखी सँग भेटवार्ता गर्दै उनले सो आग्रह गरेकी हुन्। आठौं हिन्द महासागर सम्मेलनमा सहभागिता जनाउन मस्कट पुगेकी मन्त्री राणासँग मुराइखीले शिष्टाचार भेट गरेका थिए।
शिष्टाचार भेटका क्रममा नेपाल-कतार सम्बन्ध, द्विपक्षीय हित, पारस्परिक लाभका विविध विषय तथा कतारमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, दक्ष प्राविधिक जनशक्ति आदानप्रदान लगायतका विषयमा विस्तृत छलफल भएको थियो।
यस अवसरमा मन्त्री राणाले इजरायल-हमास युद्धमा बन्धक बनाइएका विपिन जोशी को रिहाइका लागि कतार सरकारलाई विशेष पहल गर्न आग्रह गरिन्।
उनले इजरायल सरकार र हमासबीच युद्धविराम र शान्ति वार्ताका लागि कतारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै विपिनको सुरक्षित रिहाइका लागि कतार सरकारको मध्यस्थता आवश्यक रहेको उल्लेख गरिन्।
यसअघि पनि मन्त्री राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल-खुलाइजीसँग फोन वार्ता गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरिसकेकी थिइन्। खुलाइजी हमास र इजरायल सरकारबीचको शान्तिवार्ताका प्रमुख मध्यस्थकर्ता हुन्।
नेपाल सरकारले विपिन जोशीको रिहाइका लागि संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा निरन्तर कूटनीतिक पहल गरिरहेको छ। मन्त्री राणाले विभिन्न बैठक तथा उच्चस्तरीय वार्ताहरूमा विपिनको शीघ्र रिहाइका लागि आग्रह गर्दै आएकी छन्।