काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौं जिल्ला परिसरका अनुसार मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई हाल कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेका छन्। उनको गएराति करिब पौने १२ बजे निधन भएको हो।
योसँगै उक्त विस्फोटमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। यसअघि, शुक्रबार उपचारका क्रममा उदयपुरगढी-७ का २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो।
विस्फोटमा परी १४ जना घाइते भएका थिए, जसमध्ये गम्भीर अवस्थामा रहेका ११ जनालाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो।
यसअघि सोमबार, मकवानपुर मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुर कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को पनि उपचारका क्रममा निधन भएको थियो। अन्य घाइतेहरूको उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ।