पुलिसलाई ३-१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा! रारा च्याम्पियन

पुलिसलाई ३-१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा! रारा च्याम्पियन

पोखरा । आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ।

शनिबार भएको फाइनल खेलमा ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गर्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औं आहा! रारा पोखरा गोल्डकपको उपाधि जितेको हो।

ब्ल्याक बुल्स आहा! रारा जित्ने दोस्रो विदेशी टोली बनेको छ। यसअघि २०६२ सालमा अफ्रिकन युनाइटेडले नेपाल पुलिसलाई नै हराएर उपाधि जितेको थियो।

पाँच वर्षपछि फाइनल पुगेको नेपाल पुलिस क्लब पाँचौँ पटक उपविजेतामा सीमित रह्यो। पछिल्ला केही प्रतियोगितामा प्रारम्भिक चरणमै बाहिरिएको पुलिसले आहा! रारामा भने उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको थियो।

तर, उज्बेकिस्तानको टोलीसँग पराजित भएपछि पुलिसले कीर्तिमानी सातौं पटक उपाधि जित्ने अवसर गुमायो।

खेलको समीक्षाः ब्ल्याक बुल्सको दबदबा

ब्ल्याक बुल्सले खेलको ४०औं मिनेटमा कप्तान जाकोन्गिर अक्माडोभको फ्रिकिक गोल गर्दै अग्रता लिएको थियो। पुलिसका प्रज्वल चौधरीले फाउल गरेपछि पाएको फ्रिकिकलाई अक्माडोभले गोलमा परिणत गरेका थिए।

५९औं मिनेटमा असिलबेक ओरिफजोनोभले अजिजबेकको क्रसलाई नियन्त्रणमा लिँदै गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर बनाए।

६६औं मिनेटमा सभ्कात्जोन सत्तारोभले अर्को गोल थप्दै टोलीलाई ३-० को बलियो अग्रता दिलाए।

नेपाल पुलिसका लागि शिशिर चौधरीले ७४औं मिनेटमा सान्त्वना गोल गरे। उज्ज्वल राईको फ्रिकिकमा उनले हेडर गोल गर्दै पुलिसलाई खेलमा फर्काउने संकेत गरे पनि बाँकी समयमा थप गोल निकाल्न सकेन।

खेलको सुरुआतमा नै पुलिसले अग्रता लिने राम्रो अवसर पाएको थियो। तेस्रो मिनेटमा सुनिल तामाङको क्रसमा मनिष सेडाईंले हेडर प्रहार गरे पनि ब्ल्याक बुल्सका गोलकिपरले बचाएका थिए।

ब्ल्याक बुल्सको ऐतिहासिक जित

ब्ल्याक बुल्सले पहिलो सहभागितामै उपाधि जित्दै १२ लाख १ हजार रुपैयाँ पुरस्कार हात पार्यो, भने उपविजेता पुलिसले ६ लाख १ हजार रुपैयाँमा चित्त बुझायो।

आहा! रारा पोखरा गोल्डकप जित्ने ब्ल्याक बुल्स नवौं टोली हो। यसअघि पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६, थ्री स्टार क्लबले ५, संकटा क्लबले २ पटक तथा अफ्रिकन युनाइटेड, आयोजक सहारा क्लब पोखरा, एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लबले समान १ पटक उपाधि जितेका थिए।