

काठमाडौँ । सत्तारुढ दलहरुले सरकारले जारी गरेको अध्यादेशलाई संघीय संसद्मा अघि बढाउने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा सबै दलहरूसँग छलफल गरेर अध्यादेशलाई अघि बढाउने निर्णय गरिएको हो।
गृहमन्त्री रमेश लेखकका अनुसार, फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत गरिनेछ। उनले अध्यादेश पारित गर्न बहुमत पुग्ने विश्वास व्यक्त गरे।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग फोनमा भएको कुराकानीमा अध्यादेशमा समर्थन गर्ने सहमति भएको उनले जानकारी दिए।
लेखकले भूमिसम्बन्धी अध्यादेश लगायत अन्य असन्तुष्टिलाई प्रतिस्थापन विधेयकमार्फत समाधान गरिने बताउँदै संविधान संशोधनका लागि कांग्रेस र एमालेले कार्यदल बनाएर चरणबद्ध रूपमा काम गर्ने निर्णय गरिएको बताए।
बैठकमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेर बहादुर देउवा, समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान लगायतका प्रमुख दलका प्रतिनिधिहरू सहभागी थिए।