चितवन । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका सांसद प्रकाशशरण महतले पार्टीको नेतृत्वका लागि आफूलाई कुनै पनि कोणबाट कम नरहेको बताएका छन्। शनिबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा महतले नेतृत्वका लागि आफूलाई अन्य जो-जो देखिएका छन्, उनीहरूभन्दा कम नठान्ने बताएका हुन्।
उनले भने, “जहाँसम्म योग्यताको प्रश्न छ, म आफूलाई कुनै पनि कोणबाट, कुनै पनि पृष्ठभूमीबाट कम ठान्दिन।”
तर महतले महाधिवेशनका लागि अझै कम्तिमा दुई वर्ष समय रहेको भन्दै नेतृत्वको दौड अहिले नै सुरु गर्न आवश्यक नभएको बताए। उनले नेतृत्वका लागि दौडधुपको सट्टा पार्टीको एकता र निर्माणमा ध्यान दिनुपर्ने बताएका छन्।
“पार्टीलाई एकीकृत बनाउन दौड लगाउनुपर्छ, सद्भाव वृद्धि गर्न दौड लगाउनुपर्छ। अहिलेदेखि नै म भनेर दौड किन लगाउनु?” महतले भने।