

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन्।
गएराति १२ बजे राजधानी बेरुत नजिक युनिफिल (UNIFIL) मिसनका डेपुटी फोर्स कमाण्डर ढकाल सवार गाडीमाथि प्रदर्शनकारीहरूले आक्रमण गर्दा उनी घाइते भएका हुन्। सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, उत्तेजित भिडले कन्भोय रोकेर तोडफोड गरेपछि उनलाई तत्काल उद्धार गरी संयुक्त राष्ट्र संघको लेभल थ्री अस्पताल, बेरुतमा भर्ना गरिएको थियो।
सैनिक प्रवक्ता गौरवकुमार केसीले उपरथी ढकालको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी अस्पतालले दिएको बताए।
युनिफिल मिसन हेडक्वार्टरले जारी गरेको विज्ञप्तिमा दक्षिण लेबनानमा स्थायित्व र शान्ति स्थापनामा संलग्न शान्ति सैनिकमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाइएको छ। संयुक्त राष्ट्र संघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी संलग्नहरूमाथि कारबाही गर्न आग्रह गरेको छ।
घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनानी आर्मड फोर्सले दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाइने बताएका छन्।
समाचार संस्था एपीका अनुसार, इरानबाट आएको यात्रुबाहक विमानलाई बेरुतमा अवतरण गर्न नदिने सरकारी निर्णयको विरोधमा लेबनानमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले राजधानीका मुख्य सडक तथा विमानस्थल जाने मार्ग अवरुद्ध पारेका छन्। यही क्रममा नेपाली उपरथी ढकाल सवार गाडीमाथि आक्रमण भएको हो।